पोखरामा दुर्घटनामा ग्रस्त बिमानमा १० विदेशीसहित ६८ जना यात्रु

धनगढी १ माघ । ६८ जना यात्रु बोकेर काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ । बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज अवतरण हुनै लाग्दा सेती खोँचमा खसेर दुर्घटनामा परेको हो ।

खोलामा खसेको विमानमा आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले नि आगो निभाउने प्रयास चलिरहेको बताए । भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनामा पर्नुलाई हवाई क्षेत्रका व्यक्तिहरुले नै आश्चर्यका रुपमा हेरेका छन् । सुगम भौगोलिक क्षेत्र र विमानस्थल नजिकै विमान खस्नु निकै दुःखद् घटना भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ ।

‘अवतरणको बेला टर्निङ लिँदा समस्या छ भन्ने सुनेको हो, आज त्यै समस्याका कारण दुःखद् दुर्घटना भएको अनुमान गरेका छौँ ।’ यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा १० विदेशीसहित ६८ जना यात्रु रहेको जनाइएको छ । दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ यात्रुसहित कूल ७२ जना जहाजमा रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा १० बजेर १३ मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् । विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्देशन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.